काठमाडौं।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग छनोट आजदेखि सातदोबाटोस्थित एन्फा मैदानमा सुरु भएको छ।
प्रतियोगितामा १४ टोली सहभागी छन्, जसलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल र एफसी रियल छन्। समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन्।
पहिलो दिन एफसी रियल बनाम छहारी र सङ्कटा एफसी बनाम नेपाल खेलकुद क्लबबीच खेल हुनेछ।
सहभागीमध्ये उत्कृष्ट पाँच टोली एन्फा महिला लिगका लागि छनोट हुने छन्। दुवै समूहका शीर्ष दुई टोली प्रत्यक्ष छनोट हुने र तेस्रो स्थानका दुई टोलीबीचको प्ले अफबाट पाँचौँ टोली तय हुने एन्फाले जनाएको छ।



