काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले चेन्नई सुपरकिंग्सलाई चार विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याउँदै पञ्जाबले खेलको अन्तिम ओभरको चौथो बलमा जित सुनिश्चित गरेको हो । कप्तान श्रेयस अय्यरको ७२ रनको विस्फोटक पारी र प्रभ्सीरमन सिंहको अर्धशतकले पञ्जाबको इनिङलाई बलियो बनायो ।
शशाङ्क सिंहले अन्त्यतिर १२ बलमा २३ रन बनाउँदै जितमा टुंगो लगाइदिए । पञ्जाबले ६ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । चेन्नईका लागि खालेल अहमदले दुई विकेट लिए । तर खेलको निर्णायक मोड १९औँ ओभरमा आयो, जब युजभेन्द्र चावलले ह्याट्रिकसहित चार विकेट लिँदै चेन्नईको सम्भावित २०० पारिको स्कोरलाई १९० रनमै सीमित गरे ।
चेन्नईको तर्फबाट साम कुरानले सर्वाधिक ८८ रन बनाए। तर अन्तिम ११ बलमा चेन्नईले ६ विकेट गुमाउँदै मात्र १८ रन जोड्न सकेको थियो ।
आर्शदीप सिंह र मार्को जेन्सनले पञ्जाबका लागि दुई–दुई विकेट लिए । कप्तान अय्यरको निर्णायक प्रदर्शनका कारण उनलाई प्लेयर अफ द म्याच घोषित गरियो ।
यो जितसँगै पञ्जाब १० खेलबाट १३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईले चार खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।




