काठमाडौँ । राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । जारी आइपिएलको गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जाव किंग्सलाई ५० रनले पराजित गरेको हो ।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ९ विकेट गुमाउदै १५५ रन मात्र बनाएको थियो । पञ्जावका लागि नेहल वढेराले सर्बाधिक ६२ रन बनाए भने ग्लेन म्याक्सवेलले ३० रन बनाएका थिए । त्यसैगरी राजस्थानका बलर जोफ्रा आर्चरले सर्बाधिक ३ विकेट लिए भने सन्दीप शर्मा र महीश तिक्षणाले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
राजस्थानका लागि यशस्वी जयसवालले सर्बाधिक ६७ रन बनाएका थिए भने रियान परागले ४३, कप्तान संजु सामसनले ३८, शिमरन हिटमायरले २० ध्रुव जुरेलले १३ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर लुकी फर्गुसनले २ विकेट लिए भने अर्शदीप सिंह र मार्को जान्सेनले एक एक विकेट लिए ।
यो जितपछि राजस्थानले ४ खेलमा दोस्रो जित हासिल गरेको छ । राजस्थानको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यस्तै पञ्जावले पनि तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । पञ्जावको ३ खेलमा ४ अंक रहेको छ ।
आज आइपिएल अन्तर्गत सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ ।




