खेलकुद

त्रिकोणात्मक टी–२० सिरिज: नेपालको लगातार तेस्रो हार

काठमाडौँ । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल शनिबार थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो ।

जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ईन्दु वर्माले सर्वाधिक ३० रन बनाउनुभयो ।

यस्तै ओपनर सम्झना खड्काले २३, पुजा महतोले १८ र कविता जोशीले १४ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सका आईरिस जेवेलिङ, क्यारोलिन डे लन्ज र हेखर सिगरले दुई दुई तथा इभा लिन्च र इशावेल भानले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाउनुभयो ।

यस्तै हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले २१/२१ रन जोड्नुभयो । बलिङमा नेपालकी सिता रानामगरले पाँच विकेट लिनुभयो । मनिषा उपाध्यायले दुई तथा कविता जोशी र कप्तान इन्दु वर्माले एक एक विकेट लिनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *