खेलकुद

त्रिकोणात्मक श्रृखंला : नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको चुनौती

काठमाडौं । महिला टी–ट्वेन्टी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपालसामु १ सय ५८ रनको चुनौती प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्सले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो।

उसका लागि रोबिनी रिज्केले अविजित ५९ रनको योगदान गरिन्। आइरिस ज्वीलिङ पनि ३१ रनमा नटआउट रहिन्। स्टेयर कालिसले २९ र हिथर साइगर्सले २३ रन जोडिन्।

नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए। नेपालले केहीबेरमै जवाफी ब्याटिङ थाल्नेछ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज सुरु भएको हो।

सिरिजमा प्रत्येक टोलीले आपसमा दुई–दुई खेल खेल्नेछन्। जसबाट शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सिरिज माघ २५ गतेसम्म चल्नेछ । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने तालिका छ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, अन्डर–नाईन्टिन टोलीकी कप्तान पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनीषा उपाध्याय र ईश्वरी विष्ट छन्।

यो सिरिज नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण हुने क्यानको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *