काठमाडौं । सभापति फुटबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ।
नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि दशरथ रंगशालामा सभापति कप शुरु हुन लागेको हो।
खेलअघि पत्रकार सम्मेलनमा सहभागी आठ क्लवमध्ये ६ टोलीले उपाधि जित्ने दाबेदारी गरेका छन्। आज उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिँड्दैछन्। खेल दिउसो ३ बजे सुरु हुनेछ। संकटाका टिम अफिसियल राजुमान तुलाधारले युवा खेलाडीसहित राम्रो तयारी गरेको र टिम च्याम्पियन हुने लक्ष्य रहेको बताए।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ टोली टिमले प्रतिष्पर्धा गर्दैछन्। मच्छिन्द्र फुटबल क्लबमा प्रशिक्षक सन्तोष न्यौपानले धेरै पछि दशरथ रंगशालामा खेल्न पाउँदा खेलाडीहरू उत्साहित रहेको उल्लेख गर्दै प्रतियोगिताका लागि तयार रहेको बताए।
मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले करिव एक महिनादेखि मोफसलका प्रतियोगिताहरू खेलिरहेको उल्लेख गर्दै सभापति कप जित्ने लक्ष्यसहित उत्रने बताए।
एनआरटीका अफिसियलल सुरेन्द्रकुमार श्रेष्ठले पनि तयारी राम्रो भइरहेको विश्वाव व्यक्त गरे। उनले मोफसलमा खेलिरहेको टोली नै निरन्तरता दिने उल्लेख गदै उपाधि जित्ने दाबेदारी व्यक्त गरेका छन्। उनले अन्जन विष्टको कप्तानीमा टोलीले खेल्ने पनि उल्लेख गरेका छन्।
विभागीय टोली एपिएफले मच्छिन्द्रसँग खेल्दै प्रतियोगिताको शुरु गर्नेछ।एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले प्रतिद्वन्द्वी धेरै राम्रो रहे पनि उनीहरूको टिमअनुरूप आफूले पनि तयारी गरेको बताएका छन्।
आयोजक टोलीका रूपमा बागमती क्लवले खेल्दैछ। वागमती क्लवका अफिसियल उज्वल श्रेष्ठले छोटो समयमा पनि राम्रो तयारी गरेको बताएका छन्। चार जना विदेशी खेलाडी रहेको श्रेष्ठले उल्लेख गरे।




