खेलकुद

पाकिस्तानसामु नेपाली ब्याटर चलेनन्, दियो १५३ रनको लक्ष्य

काठमार्डौं । यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा आएको नेपाल ४७।२ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बटुल्न सफल भयो ।

उत्तम मगर, दिपेश कँडेल र अर्जुन कुमालबाहेक कोही पाकिस्तानी बलरसामु टिक्न सकेनन् । उत्तमले ५१ रन जोडे । दबाबपूर्ण अवस्थामा ब्याटिङ गरेका उनले ७६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उत्तमले छैटौँ विकेटका लागि दीपेश कँडेलसँग ६८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दीपेशले ३१ रन बनाए । ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानविरुद्ध नेपाली कप्तान देव खनाल १३ बलमा रनको खाता नखोली आउट भए । सिनियर टोलीका गुल्सन झाले पनि टिमको खातामा एक रन मात्र थपे । नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रनमात्र खर्चिए । अमिर हसनले दुई विकेट लिँदा अलि असफान्ड र उबैद साहले समान एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *