खेलकुद

दुई मिनेटमा दुई गोल गर्दै क्यामरुनविरुद्ध पहिलो ‘हाफ’ मा सर्बियाको अग्रता

दोहा । फिफा विश्वकपको समूह ‘जी’ अन्तर्गत क्यामरुनविरुद्ध जारी खेलको पहिलो हाफमा सर्बियाले २–१ गोलको अग्रता लिएको छ । युरोपेली मुलुकविरुद्ध प्रतिस्पर्धात्मक खेलको २९ औं मिनेटमा जिन–चाल्र्स कास्टेलेटो गोल गर्दै अफ्रिकी मुलुकलाई अग्रता दिलाएका थिए ।

कर्नरबाट आएको पासमा निकोलस एनकलाउले हेडरमार्फत दिएको पासमा ६ यार्ड बक्सभित्र रहेका कास्टेलेटोले सहज गोल गरेका थिए ।

यद्यपि इन्जुरी समयमा दुई गोल गर्दै सर्बियाले शानदार पुनरागमन गर्‍यो । इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जाले पाभ्लोभिचले गरेको गोलसँगै सर्बियाले बराबरी गरेको थियो । त्यसको दुई मिनेट नबित्दै मिनिक्कोभिच साभिचले गरेको गोलसँगै सर्बियाले रोमाञ्चक अग्रता लियो। इन्जुरी समयमै अलेक्सान्डर मिट्रोभिचले गरेको प्रहार बाहिरिँदा सर्बियाले अग्रता अझै लम्ब्याउने सुन्दर मौका गुमाएको थियो ।

पहिलो खेलमा ब्राजिलसँग २–० को नतिजामा पराजित भएको सर्बियाले यो जिते नकआउट चरण नजिक पुग्ने छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–० को नतिजामा पराजित भएको क्यामरुन आज पनि पराजित भए एक खेल अगावै समूह चरणबाटै बाहिरिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *