काठमाडौं । नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ ।
केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ४७ दशमलव ३ ओभरमा पुरा गरेको हो । ओपनर आशिफ शेखको शतक र अर्जुन साउदको ऐतिहासिक साझेदारीको बलमा नेपालले जित निकालेको हो ।
ओपनरद्वय आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।




