काठमाडौं।नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । बुढानीलकण्ठको चुनीखेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभीवेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने छ ।
दोस्राे आरडब्लु विन्टर स्लाम सिन्धुपाल्चोकको वुफडाँडामा आइतबार नै हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
हेभीवेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित बजेट १० लाख रहेको छ । दोस्राे आरडब्लु विन्टर स्लाममा पनि नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका चर्चित खेलाडीको पनि सहभागिता रहने छ ।




