खेलकुद

भैरहवालाई हराउँदै पोखरा फाइनलमा

काठमाडौँ । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार दिउँसो भएको दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखराले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

टियु क्रिकेट मैदानमा जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको पोखराले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । पोखराका लागि साहन अर्चाचिगेले अविजित रहँदै सर्वाधिक ५३ रनको अर्धशतकिय इनिंग्सको योगदान दिए । त्यस्तै, विपिन रावल४० रनमा अविजित रहे भने रिचार्ड लेभीले १४ रन जोडे । भैरहवाका लागि भुवन कार्कीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए भने आरिफ शेख २७ रन जोडे । त्यस्तै, रोहित पौडेल १८ रन, प्रदिप ऐरी ११ रन र उपुल थरंगा १० रनमा आउट भए । पोखराका लागि भने किशोर महतो र सहन अराछिगेले समान २/२ विकेट लिए ।

अब पोखराले उपाधिका लागि चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *