खेलकुद

चितवन टाइगर्सको अपराजित यात्रा कायमै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले जितको श्रृखलालाई कायमै राखेको छ । आइतबार दिउँसो भएको खेलमा चितवनले ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुरले दिएको १०९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १६.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । चितवनका लागि मोममद साहजादले सर्वाधिक ३९ रन बनाए भने भीम सार्की २७ रनमा क्याच आउट भए । त्यस्तै, विरनदीप सिंहले १३ रन बनाउँदा दिलीप नाथ १६ रनमा र राजेश पुलामी ६ रनमा अविजित रहे ।

ललितपुरका लागि आजमतुल्लाह ओमरजाई र रिजन ढकालले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । खराव प्रदर्शनको सुरुवात गरेको ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय सन्दुन विराक्कोडी १४ रनमा बनाउँदा कप्तान कुशल भुर्तेल मात्र १ रनमा क्याच आउट हुन पुगे । त्यस्तै, ललित राजवंशी ९ रन र सुर्य तामाङ ११ रनमा अविजित रहे ।

बलिङमा चितवनका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । त्यस्तै, करिम जनत र सागर ढकालले समान २/२ विकेट लिँदा साहव आलमको हातमा एक विकेट रह्यो ।

योसँगै सोमपाल कामीको कप्तानीमा रहेको चितवनले लगातार चौथो जित निकालेको छ । चितवन ८ अंकसिहत शीर्षस्थानमा छ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर भने तीन अंकसहित चौथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *