काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको हो । ललितपुरका लागि सान्दुन विराक्कोडीले अर्धशतक प्रहार गरे । उनी ५८ रन बनाउँदै क्याच आउट हुन पुगे । त्यस्तै, अजमतुल्लाह ओमरजाईले ४२ रनको योगदान दिए भने सन्दीप जोरा ३८ रनमा रनआउट भए । ओशदा फर्नान्डो २० रन बनाएर पेभेलियन फर्किए भने योगेन्द्रसिंह कार्कीले ७ रन जाेडे ।
कप्तान तथा ओपनर कुशल भुर्तेल भने २ रनमा रन आउट हुन पुगे । कुशलको ब्याटिङ इपिएलमा चल्न सकेको छैन । यसअघि पहिलो खेलमा कुशल काठमाडौंसँग गोल्डेन डक र पोखरा राइनोजसँग ३ रनमा आउट भएका थिए ।
बलिङतर्फ भैरहवाका अभिनाश बोहराले २ विके६ लिए भने आरिफ शेख, धाम्मिका प्रसाद र कृष्ण कार्कीले समान एकएक विकेट लिए ।




