काठमाडौँ । आइपिएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) का कप्तान विराट कोहलीले कप्तानी छोड्ने घोषणा गरेका छन् ।
भारतको राष्ट्रिय टी-२० टिमको कम्प्तानी छोडेका विराटले आइपिएल टिम आरसिबीको कप्तानी पनि छोड्ने घोषणा गरेका हुन् । विराटले अहिले युएईमा जारी २०२१ सिजनको समाप्तिसँगै आरसिबीको कप्तानी छोड्ने घोषणा गरेका हुन् ।
विराट २०१३ देखि आरसिबीको कप्तान रहेका छन् । उनलाई डेनियल भिटोरीपछि आरसिबीको कप्तानी दिइएको थियो । ९ सिजन आरसिबीको कप्तानी गरेका विराटले टिमलाई आइपिएलको उपाधि भने जिताउन असफल भएका छन् । २०१६ मा आरसिबी विराटको कप्तानीमा फाइनलमा पुगेको नै अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।
कप्तानी छोडेपनि उनले आरसिबीबाट नै आइपिएल खेल्ने विराटले बताएका छन् । उनले आफ्नो रिटायरमेन्टसम्म पनि आफु आरसिबीबाट खेल्ने स्पष्ट गरेका छन् ।




