खेलकुद

पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलको फ्रेन्चाईज टिम पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ । पूरानोलाई अझ परिष्कृत गर्दै क्लबले बुधबार नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो ।

नयाँ लोगोमा रहेको कालो रंगले टिमको शक्ति, भव्यता, परिष्कृत र विश्वासलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला रंगले टिमको खुसी, सफलता, दृढ संकल्प र उत्साहको संकेत गर्ने क्लबले जनाएको छ ।

यस्तै, जर्सी र सुरुवाल कालो र सुन्तला रंगको छ । जर्सीमा बिचको भाग देखि तल सम्म पोखराको झझल्को दिने माछापुच्छ्रे हिमालले सजाइएको जर्सीमा राइनोजको ईपीएल टि२० २०७८ का लागि प्रमुख प्रायोजक सौर्य सिमेन्टको लोगो हिमालको ठीकमाथि राखिएको छ । दुवै पाखुरामा आधिकारिक प्रायोजकहरु मित्तुविसी र एडनोक लुब्रिकेन्टको लोगो रहेको छ । यस फ्रान्चाइज लिगको जर्सीमा बजाज फ्रेन्चाईज ईपीएल २०२१ को लोगो दायाँ पाखुरामा देख्न सकिन्छ ।

जर्सीको पछाडिको भागमा अर्को प्रमुख प्रायोजक जगदम्बा सुपर साइनको लोगो रहेको छ । यस लोगोको ठीक तल राइनोजका प्रशंसकहरुको लागि बनाइएको जर्सी नम्बर छ र सो नम्बर भित्रको तल्लो भागमा वृक्षारोपण मार्फत स्वस्थ वातावरणको प्रवद्र्धन गर्ने ब्रेथ क्लिनको लोगो रहेको छ । यसैगरी, जर्सी नम्बरको तल पोखरा राइनोजको ह्याज ट्याग गैंडा प्रयोग गरिएको छ ।

बायाँ काँधमा रहेको ४ वटा गैंडाले पोखरा राइनोजले नेपालको फ्रेन्चाइज लिगमा खेलेको ४ सिजनलाई संकेत गर्दछ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *