काठमाडौं ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेलको ‘किक अफ’ समय तय भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको दुबै खेल अपरान्ह ५ः३० मा सुरु हुने जनाएको छ।
नेपाल र भारतबीचको खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने केही निर्णय भएको छैन । एन्फाका महासचिव इन्द्रमान तुलाधरले दर्शक राख्नेबारे प्रशासनसँग छलफल भइरहेको बताए।
महासचिव तुलाधरले मंगलबारसम्म दर्शक प्रवेशबारे तय हुने बताए । खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुनेछ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज सोमबार नेपाल आइपुग्ने छन्।
मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।




