काठमाडौं ।हामीसँग दक्षिण एसियाकै उत्कृष्ट फिनिसर तथा स्ट्राइकर छ। हामी त्यसको भरपूर सदुपयोग गर्छौं,’ विराटनगर सहिद रंगशालामा पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप प्रतियोगिताअघि नेपाली महिला फुटबल टोलीका तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले भनेका थिए।
जब नेपालले अन्तर्राष्ट्रिय मैदानमा भाग लिन्छ, नेपाली टोलीको मुख्य हतियार नै सावित्रा भण्डारी ‘साम्बा’ हुने गर्दछिन्। राष्ट्रले खेल्दा मात्रै हैन, क्लबस्तरमा पनि सावित्राको अग्रपंक्तिमा दबदबा रहने गर्दछ। त्यो चाहे नेपालभित्र होस् या बाहिर। सावित्रा दक्षिण एसियाकै उत्कृष्ट र परिचित स्ट्राइकर हुन्।
उनले नेपाली राष्ट्रिय टोलीबाट मात्रै हैन, क्लबस्तरमा विभागीय एपीएफ क्लब होस् या भारतीय हिरो महिला लिगमा सेथु एफसी तथा एफसी गोकुलम केरेलालाई लिगको उपाधि जिताउँदा तथा माल्दिभ्स पुलिसबाट लिग खेल्दा होस्। आफूलाई एक उत्कृष्ट स्ट्राइकर र फिनिसरको रुपमा पुष्टि गरेकी छन्।
सावित्राले गत फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा घुँडाको चोट बोकिन्। त्यसयता उनी मैदान बाहिर छिन्। घुँडाको ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट’ (एसिएल) मा लागेको चोटका कारण सावित्राको शल्यक्रिया गर्नुपर्ने भयो। नेपाल पुलिसविरुद्ध बल नियन्त्रणमा लिएर ‘ल्यान्ड’ हुने क्रममा घुँडाको चोट बोकेपछि सावित्राको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भयो। एन्फाले कतार फुटबल एसोसिएसनको सहयोगमा विश्व प्रसिद्ध ‘अस्पेटार’ अस्पतालमा शल्यक्रिया गरिसकेको छ।
शल्यक्रियासँगै विस्तारै हिँडिरहेकी सावित्रा विस्तारै फर्कने प्रयासमा छिन्। अझै कति समय बाहिर बस्छिन्, त्यसको टुंगो छैन।
सावित्राको चोटकै दौरान नेपालले भारतमा हुने सन् २०२२ एएफसी महिला कपको छनोट खेल खेल्दैछ। छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसहित फिलिपिन्स र हङकङ छन्। समूहको खेल नेपालमा हुने भनिए पनि कोरोनाका कारण उज्वेकिस्तानमा सरेको छ। नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स तथा सेप्टेम्बर २१ मा हङकङको सामना गर्नेछ।
नेपालको तुलनामा फिलिपिन्स र हङकङ दुबै माथिल्लास्तरका हुन्। महिला वरीयताकै कुरा गर्ने हो भने फिलिपिन्स ६८ औं स्थानमा छ भने हङकङ ७६ स्थानमा। नेपाल भने १०१ स्थानमा छ।
नेपालले एएफसी कप छनोटअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालमै हुने तय भएको मैत्रीपूर्ण भदौ २४ र २७ गते आयोजना हुनेछ।
यिनै खेलका लागि अहिले नेपाली टोलीमा सावित्रा भण्डारीको खोजी छ। महिला फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान राखेकी सावित्राको अभावमा प्रशिक्षक ग्यारी फिलिप्स कम्तीमा नयाँ सावित्रा खोज्दैछन्। त्यो दौड, त्यो खालको फिनिसिङ, त्यो शारीरिक हाउभाउ नपाए पनि नेपाली महिला फुटबलका लागि पहिलो विदेशी प्रशिक्षक बनेका ग्यारी कम्तीमा एउटा राम्रो फिनिसर तथा स्ट्राइकरको खोजीमा छन्।
राष्ट्रिय महिला लिगबाट उत्कृष्ट प्रदर्शन गरेका ४५ खेलाडीबाट हाल अन्तिम २३ खेलाडीसम्म आइपुग्दा प्रशिक्षक अहिले नै साम्बाको विकल्प यही हो भनेर भन्ने अवस्थामा छैनन्। तर ग्यारीले साम्बाको विकल्पको रुपमा पाकिस्तानी लिग खेलेका सरु लिम्बू र अनिता केसी तथा उमेर समूहका रश्मि घिसिङ र युवा खेलाडी प्रीति राईलाई अग्रपंक्तिमा राखेर परिक्षण गरिरहेका छन्।
‘हामीले प्रतियागितामा साम्बालाई गुमाउनेछौं। साँच्चै टेक्निकल टिम क्वालिटी प्लेयर साम्बाको ‘रिप्लेस’ खोजिरहेको छ । पक्कै पनि च्यालेन्ज छ । हामी यात्रासम्म त्यसलाई भेटाउँछौं,’ अष्ट्रेलियन नागरिक ग्यारीले अभ्यास सत्रअघि भने, ‘तर नयाँ खेलाडी यू–१९ टिमबाट आएका छन् । उनीहरु राम्रा छन्। हामीले प्रत्येक दिन सुधार गरेका छौं। भ्रमणअघि हामी राम्रो टिम बनाउँछौं। हामीलाई यो राम्रो अवसर छ।’
प्रशिक्षक ग्यारीले सावित्राको अभावमा खेलाडीलाई मानसिक रुपमा तयार पारेको र केही अन्तर्राष्ट्रिय खेल खेलिसकेका त केही उमेर समूहको खेल खेलिसकेको खेलाडीले सावित्राको स्थान लिने बताए।
‘हामीसँग धेरै खेलाडी छन्, जो साम्बालाई ‘रिप्लेस’ गर्न सक्छन्। सबै खेलाडीलाई मानसिकरुपमा तयार पारिएको छ। प्रीति, रश्मि छन्, पाकिस्तानबाट लिग खेलेर आएका सरु र केसी पनि छन्। उनीहरुले अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन्,’ एन्फा टेक्निकल डाइरेक्टरसमेत रहेका ग्यारीले भने। यस्तै प्रशिक्षक ग्यारीले सहभागी खेलाडीबाटै एसिया कपमा राम्रो नतिजा ल्याउने विश्वास दिलाए।
यता, टोली कप्तान रेणुका नगरकोटेसमेत टोलीमा सावित्राको अभावमा खेल्ने खेलाडीको परीक्षण भइरहेको र नयाँ खेलाडीले सावित्राको अभाव हुन नदिने विश्वास राखिन्। ‘साम्बाको विकल्प अहिले नै भन्न सकिँदैन। प्रशिक्षकले सबैलाई परीक्षण गराइरहनु भएको छ । यसैले सावित्राको स्थान लिन्छ भन्ने छैन। सबैजना अहिलेको अभ्यासमा बराबरी नै छन् । सावित्रा छैन भनेर एकदमै निराश हुनुपर्ने ठाउँ छैन । नयाँ बहिनीहरु राम्रो छन्। अझ सबैजना युवा छन् । उमेर समूहमा सबैले खेलेका छन् । त्यसैले निराश हुनु पर्दैन,’ कप्तान रेणुका भन्छिन्।
कप्तान रेणुका यसअघि नेपाली टिम नभए पनि आफूहरुले एपीएफ क्लबबाट खेल्दा हङकङलाई पराजित गरेको र राष्ट्रिय टोलीले हङकङलाई हराउन खेल्ने बताउँछिन्। यस्तै उनले विपक्षीलाई कमजोर ठान्नु गलत हुने बताउँदै छनोट हुन खेल्ने बताइन्।
‘छनोटको ‘चान्स’ त अहिलेनै भन्ने अवस्था आएन। विदेशीलाई कहिल्यै कमजोर ठान्नु भएन। हङकङसँग त हामीले पहिल्यै पनि खेलेका छौं। राष्ट्रिय टिमबाट खेलेनौं, हामी एपीएफ टिमबाट खेलेका थियौं। पहिलेको भन्दा राम्रो भयो होला, तर हामी हार चाहिँ मान्दैनौं,’ रेणुकाले भनिन्।
यसअघि एपीएफ टोलीले हङकङलाई उसैको मैदानमा ३–१ गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा एपीएफका लागि सावित्राले दुई गोल गर्दा मन्जलीकुमारी योञ्जनले एक गोल गरेकी थिइन्।
यता, राष्ट्रिय टोलीकी सदस्य सरु लिम्बू अभ्यास सत्रमा सावित्राको अट्याकिङ भूमिकामा आफू खेलिरहेका र जुनसुकै ड्युटी पाए पनि शतप्रतिशत दिएर खेल्न प्रयास हुने बताउँछिन्।
‘मेरो रोल (भूमिका) अट्याकिङमै छ । अहिलेसम्म हामीले सेट (प्लेइङ सेट) छुटाएको छैन । अब, के हुन्छ थाहा छैन । जुन ‘ड्युटी’ भए पनि मैले आफ्नो ठाउँबाट पूरा गर्नेछु। सावित्रा दिदी नहुँदा हामीलाई गाह्रो त भइरहेको छ । तर पनि हामी साम्बा दिदीको कमी नहुन दिन शतप्रतिशत दिएर प्रयास गर्नेछौं,’ नेपाल यू–१९ टोलीको कप्तानीसमेत गरेकी सरुले भनिन्।
नेपाली टिम
गोलरक्षक : अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ
डिफेन्डर : अमृता जैशी, विमल विक, गीता राई, हीराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घा मगर, सृजनासिंह ठकुरी, इन्दिरा राई
मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटे, सविता राना मगर, विमला चौधरी, प्रीति राई
स्ट्राइकर : अनिता केसी, रश्मि घिरिङ, सरु लिम्बू, रजनी थोकर ।




