खेलकुद

ओलम्पिकमा सरस्वतीको औसत प्रदर्शन

काठमाडौँ । सरस्वती चौधरीले टोकियो ओलम्पिकअन्तर्गत औसत प्रदर्शन गरेकी छन् । शुक्रबार बिहान सम्पन्न महिला महिला सय मिटर दौडमा सरस्वतीले १२.९१ सेकेन्डमा आफ्नो दौड पुरा गर्दै आफ्नो हिटमा आठौ स्थानमा रहेकी छन् ।

सय मिटर दौडमा दोस्रो हिटमा रहेकी सरस्वतीले साउदी अरेबियाकी खेलाडीलाई जितेकी छन् ।

दोस्रो हिटमा नेपाल र साउदी अरेबियाबाहेक इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी रहेका थिए । यस हिटमा इरानकी फासिही फारजानेहले सय मीटरको दौड ११.७६ सेकेन्डमा पुरा गर्दै पहिलो भएकी छन् ।

ओलम्पिकको महिला सय मिटर दौडमा २७ खेलाडीले भाग लिएका छन् भने आफ्नो हिटमा भएका नौ खेलाडी मध्ये शीर्ष तीनमा पर्ने खेलाडी दोस्रो चरणमा पुग्ने छन् ।

सरस्वती दोस्रो चरणमा पुग्न असफल भएकी छन् । दोस्रो हिटबाट इरान मलेसिया र कुवेतका खेलाडी दोस्रो चरणमा पुगेका छन् ।

टोकियो ओलम्पिकमा सरस्वतीको प्रदर्शन औसत रहेको छ । उनी आफ्नो सय मिटरमा सरस्वतीको उत्कृष्ट टाइमिङ १२.५५ सेकेन्ड भन्दा ३६ सेकेन्ड ढिलो सो दूरी पार गरेकी छन् ।

सय मिटर दौडमा नेपालको राष्ट्रिय रेकर्ड भने देवीमाया पनेरूको नाममा छ । उनले सन् १९९९ को दक्षिण एशियाली खेलमा १२.१९ मा सय मिटर दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

योसँगै नेपालको टोकियो ओलम्पिक यात्रा टुंगिएको छ ।

कस्तो रहयो टोकियो ओलम्पिकमा नेपालको सहभागिता ?

टोकियो ओलम्पिकमा नेपालका चार खेलाडी भने बाहिरिइएका छन् । बुधबार पौडी खेलाडी गौरिका सिंह हिट चरणबाट बाहिरिएकी थिइन् । यद्यपी गौरिकाले ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

त्यस्तै टोकियो ओलम्पिकमा अर्का नेपाली पौडी खेलाडी एलेक्स शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

त्यसैगरी जुडो खेलाडी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन् ।

त्यस्तै शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा गरेको प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन भने सकिनन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा आफैले कायम गरेकको ६१४.५ स्कोरको राष्ट्रिय कीर्तिमानलाई ओलम्पिकमा तोडेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *