काठमाडौँ । कोपा अमेरिका अन्तर्गत पहिलो सेमिफाइनलमा मंगलबार बिहान ब्राजिल र पेरु खेल्दै छन् । यो खेल नेपाली समयअनुसार बिहान ४:४५ बजे हुदै छ ।
कोपा २०१९ को फाइनलमा खेलेका ब्राजिल र पेरुबीचको यो खेल निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ ।
क्वाटरफाइनलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल सेमिफाइनलमा पुगेको हो भने पेरुले पराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
समुह चरणको खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
ब्राजिल र पेरु अहिलेसम्म ४९ पटक आमने सामने भएका छन्, जसमा ब्राजिल ३५ पटक विजयी भएको छ भने पेरु ५ पटक विजयी भएको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् । ब्राजिल पेरुसँग पछिल्लो पटक २०१९ को सेप्टेम्बरमा भएको मैत्रीपूर्ण खेलमा १-० गोल अन्तरले पराजित भएको थियो ।
पेरु बिरुद्ध ब्राजिलका गाब्रियल जिसस खेल्ने छैनन् भने डिफेन्डर फेलिप खेल्नेमा आशंका रहेको छ । उनको घुँडामा चोट लागेको छ ।
त्यस्तै पेरुका आन्द्रे कारिलो ब्राजिलविरुद्ध खेल्ने छैनन् ।
ब्राजिल र पेरुबीचको खेलमा ब्राजिल लगातार दोस्रो पटक फाइनल खेल्ने सम्भावना रहेपनि पेरुको टिमको खेल अनुमान गर्न नसक्ने किसिमको रहेको छ । पेरु आफ्ना प्रमुख खेलाडी कारिलोको अनुपस्थितिले ब्याकफुटमा रहेको छ । त्यस्तै ब्राजिल भने नेइमारको राम्रो फर्म रहेकाले यस खेलमा फेभरेट टिम हुने छ ।




