काठमाडौँ । ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’ अन्तर्गत बाँकी रहेका २ खेल मंगलबार बिहान सम्पन्न भएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो । समूह ‘ए’ बाट शिर्ष स्थानमा रहेको अर्जेन्टिनासहित उरुग्वे, पाराग्वे र चिलीले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् भने समूह ‘बी’ बाट शिर्ष स्थानमा रहेको आयोजक ब्राजिलसहित पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।
समूह ‘ए’ बाट बोलिभिया तथा समूह ‘बी’ बाट भनेजुएला बाहिरिएका हुन् ।अब क्वाटरफाइनलको पहिलो खेलमा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग भिड्नेछ । दोस्रो खेलमा समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।
यस्तै, तेस्रो खेलमा समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग खेल्नेछ भने अन्तिम खेलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।




