काठमाडौँ । नेपाल एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले आफ्नो यसअघिको प्रावधानलाई परिमार्जन गरेसँगै नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ नखेली सिधै तेस्रो चरण खेल्ने भएको हो ।
एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो ।
यससँगै दोस्रो स्थान हासिल गर्नेमध्य पुछारमा रहेका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएका छन् ।
एएफसीले पाँचौ स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको जनाएको छ ।
अब पाँचौ स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ । जसमा इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् ।
प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् ।
विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ ।
सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोलीले विश्वकप छनोटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनोट हुने प्रावधान अनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट हुँदै विश्वकपमा स्थान बनाउन प्रयास गरिरहेका छन् ।




