धनगढी । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको सातौँ संस्करणको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन्।
२१ दशमलक १ किलोमिटरको दुरी १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । बुढाको यो लगातार तेस्रो उपाधि हो । उपाधि सँगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरे । त्यस्तै निर्धारित दुरी १ घण्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेन्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोस्रो भए भने सशस्त्र प्रहरीका सन्तोष बिष्ट तेस्रो भएका छन् ।
दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमश नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ समेत प्राप्त गरेका छन् । यसै गरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फको उपाधि कैलालीकी सीमा चौधरीले प्राप्त गरिन् उनले उक्त दुरी २० मिनेट दशमलव ११ सेकेन्डमा पूरा गरिन् ।
उपाधि सँगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए । उपाधिसँगै दोस्रो र तेस्रो हुनेले क्रमशः तीन हजार ३३३ र दुई हजार २२२ रुपैयाँ प्राप्त गरे ।




