काठमाडौँ । संकटा क्लब १९ औं संस्करणको मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्ड कप फुटबल’ प्रतियोगिताको च्याम्पियन बनेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटाले पेनाल्टी सुटआउटमा अफ्रिकन रुट्स एशोसिएसनलाई ४-२ले पराजित गरेको हो ।
खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा खेल गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत र आयुष घलानले गोल गरे । सरोज दाहाल भने गोल गर्नबाट चुके । तर, अफ्रिकनका यानिक र रिमले मात्र गोल गर्न सफल भए ।
प्रतियोगिताको विजेता टोली संकटाले रु १० लाख एक हजार तथा उपविजेता अफ्रिकन रुट्सले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।




