खेलकुद

महिला लीग फूटबलमा एपीएफको जीत

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लीग फूटबलमा अपराजित यात्रा कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज एपीएफले वालिङ नगरपालिकालाई ६–० गोल अन्तरले हराएको हो । एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५ गोल गरिन् । यस्तै प्रिति राईले एक गोल गरिन ।

सावित्राले पहिलो हाफको ७, १६ र २० औ मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा प्रितिले गोल गरेपछि एपीएफले ४–० के अग्रता लियो । ६४ औं र दोस्रो हाफको इन्जुरी समयमा सावित्राले दुई गोल थपिन् ।

यो एपीएफको लगातार नवौं जीत हो । पहिलो चरणमा एपीएफले वालिङलाई ३–० गोल अन्तरले हराएको थियो । प्रतियोगितामा अपराजित एक मात्र टोली एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ । वालिङ ९ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

आजको अर्को खेलमा विराटनगर महानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । ९ खेल खेलेको विराटनगर १० अंक जोड्दै पाँचौं स्थानमा छ । चौदण्डीगढी अंकविहीन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *