काठमाडौँ । आगामी सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र अन्तिम अक्सनमा सुचिकृत भएका छन् । आइपिएलले सार्बजनिक गरेको अक्सनको अन्तिम सुचीमा सन्दीप मात्र परेका हुन् ।
आइपिएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए ।
सन्दीप आइपिएलको अक्सनमा पर्ने तीन एसोसियट्स देशका क्रिकेटर मध्ये एक रहेका छन् । एसोसियट्सबाट अमेरिकाका अली खान र युएईका कार्तिक मोइयप्पन रहेका छन् ।
कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजीले किन्ने छन् । जसमा १६४ भारतीय खेलाडी रहेका छन् भने १२५ विदेशी खेलाडी रहेका छन् । त्यस्तै ३ खेलाडी एसोसियट्स देशका रहेका छन् ।
अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडीको डेढ करोड भारतीय रुपैया रहेको छ । त्यस्तै ११ खेलाडीको एक करोड, १५ खेलाडीको ७५ लाख र ६५ खेलाडीको ५० लाख न्युनतम मुल्य तोकिएको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भने न्युनतम मुल्य ४० लाख तोकिएको छ ।




