खेलकुद

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

काठमाडौं । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै छन् ।

महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी हुने बताइएको छ ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र उनी अहिले महोत्सवका लागि आफ्ना बुबाकै विशेष प्रतिक्षणमा रहेका छन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।

खेलाडी अविरलले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाए । महोत्सवलाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अविरलले हालसम्म ४७ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको छ । बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।

यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए । अविरलले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तर्राष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेएका रामनारायणले जानकारी दिए ।

अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको उनले बताए । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालको लागि ‘के वान फेस्टिबल’ मा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो”, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *