कोशी प्रदेश

खेल क्षेत्रको विकासमा दशवटै स्थानीय तहको सक्रियता

खोटाङ । खोटेहाङ गाउँपालिकाका नौमध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एउटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म वडा नम्बर १ लिकुवापोखरी, वडा नम्बर २ वाप्लुखा, वडा नम्बर ३ सावाकटहरे, वडा नम्बर ५ चिप्रिङ, वडा नम्बर ६ इन्द्रेणीपोखरी, वडा नम्बर ८ सिम्पानी र वडा नम्बर ९ लिच्कीराम्चेमा खेलमैदान निर्माण गरेको हो ।

सात वडामा २०७५/७६ मा खेलमैदान निर्माणको काम पुरा गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । यस्तै, वडा नम्बर ७ खोटाङबजारमा चालु आर्थिक वर्ष खेलमैदान निर्माणको काम गरिने जनाइएको छ । खोटाङ बजारमा खेलमैदान निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । जग्गा अभावमा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा भने हालसम्म खेलमैदान निर्माणको काम अघि बढाउन सकिएको छैन ।

बड्कादियालेमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको गाउँपालिका प्रमुख राईले बताए । “खेलकुद क्षेत्रको वृत्ति र विकासका लागि गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४/७५ देखि हरेक वडामा उपयुक्त खेलमैदान निर्माण अभियान सुरु गरिएको छ”, उनले भने, “आगामी दुई वर्षभित्र सबै वडा तथा पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरेर खेल गतिविधि अगाडि बढाइनेछ ।”

गाउँपालिकाका अनुसार इन्द्रेणीपोखरीमा भने वडास्तरीय बाहेक गाउँपालिकास्तरीय खेलमैदान निर्माणको काम भइरहेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माणको काम सुरु गरिएको हो ।

यसैबीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हरेक वडामा एकै साइजका खेलमैदान निर्माण गरेको छ । समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले सातवटै वडामा १ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण गरेको हो । आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाबाट प्रतिवडा रु १०/१० लाख बजेट विनियोजन गरेर ‘एक वडा एक खेलमैदान’ निर्माण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताए । फुटबल, भलिबल, टेबलटेनिसलगायत सबै प्रकारका खेलको विकासका लागि एकै मापदण्ड र आकारका खेलमैदान निर्माण गरिएको हो ।

गाउँपालिकाको लगानीमा हरेक वडामा खेलमैदान बनेपछि खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज भएको खेलाडीले बताएका छन् । गाउँपालिकाले हरेक वडामा उपयुक्त खेलमैदान निर्माण गरेर सञ्चालनमा ल्याएपछि खेलाडीले खेलकुदसम्बन्धी गतिविधिसमेत अगाडि बढाएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा निर्माणाधीन खेलमैदानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकाको वडा नम्बर २ सोल्मा, वडा नम्बर ११ खार्मी र वडा नम्बर १४ बुइपामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण भइरहेको छ ।

नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा खार्मीमा १ सय २० मिटर लम्बाइ र ९० मिटर चौडाइको खेलमैदान गत वर्ष नै निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए । खार्मीमा निर्माण गरिएको खेलमैदानलाई स्तरोन्नति गर्ने पहल भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उता, हलेसी तुवाचुुङ नगरपालिकामा पनि सबै वडामा खेलमैदान निर्माणको काम भइरहेको जनाइएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा निर्माणाधीन खेलमैदान निर्माणको काम पनि अन्तिम चरणमा पुगेको नगरप्रमुख इवन राईले बताए ।

उक्त नगरपालिकाले विभिन्न विधाका खेल प्रशिक्षकसमेत नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण दिइरहेको छ । खेलकुद क्षेत्रको समग्र विकासका लागि खेलमैदान निर्माणका साथै सितोरियो कराँते र फुटबल खेलका लागि प्रशिक्षकसमेत नियुक्त गरेर गतिविधि अगाडि बढाइएको नगरप्रमुख राईको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा खेलमैदान निर्माण गरिरहेका छन् । स्थानीय तहले खेल क्षेत्रको विकासका लागि क्रियाकलाप अगाडि बढाएपछि खेलाडीसमेत उत्साहित भएका छन् ।

खेलमैदान निर्माण भइसकेका ठाउँमा पछिल्लो समय खेलकुद गतिविधिसमेत हुन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै स्थानीय तहमा खेलमैदानका साथै भौतिक निर्माणको काम धमाधम भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *