काठमाडौं । इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको आगामी संस्करणका लागि हुने अक्सनमा १ हजार ९७ जना खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ८ जना नेपाली खेलाडी रहेका छन् ।
बिसिसिआईका सचिव जय शाहले एक विज्ञप्ति जारी गर्दै ८ सय १४ जना भारतीय खेलाडी र २ सय ८३ जना ओभरसिज खेलाडीको नाम अक्सनका लागि दर्ता भएको बताएका छन् ।
चेन्नईमा हुने अक्सनका लागि ८ जना नेपाली खेलाडीले पनि नाम दर्ता गराएका शाहले उल्लेख गरेका छन् । अक्सन आगामी फेब्रुअरी १८ दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
अक्सनमा २१ जना भारतीय क्याप्ड खेलाडी दर्ता भएका छन् । यस्तै १८६ जना विदेशी क्याप्ड खेलाडी, एसोसिएटका २७ जना, कम्तिमा एउटा आइपिएल खेलेका भारतीय अनक्याप्ड खेलाडी ५० जना रहेका छन् ।
यस्तै, कम्तिमा एउटा आइपिएल खेलेका ओभरसिज अनक्याप्ड खेलाडी २ जना, अनक्याप्ड भारतीय खेलाडी ७ सय ४३ जना र अनक्याप्ड ओभरसिज खेलाडी ६८ जना अक्सनका लागि दर्ता भएका बिसिसिआईले जनाएको छ ।
अक्सनमा सबै फ्रेन्चाइज क्लबहरुले आफूले लिन पाउने अधिकतम खेलाडी लिएको अवस्थामा अक्सनमा सहभागी ६१ खेलाडीले आइपिएलमा जोडिने अवसर पाउनेछन् । जसमध्ये २२ जना विदेशी खेलाडीले मौका पाउनेछन् ।




