खेलकुद

पिएम कपको फाइनलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।


आर्मीले दिएको २३० रनको लक्ष्य पछाएको बागमती प्रदेश ४०.२ ओभरमा अल आउट हुदै १३५ मात्र बनाएपछि आर्मी ९४ रनले विजयी भएको हो ।

बागमती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्बाधिक ४७ रन बनाए भने विपिन आचार्यले २३ तथा आदील खानले १० रन बनाएका थिए । त्यस्तै नन्दन यादवले अविजित २२ रन बनाए ।

बागमतीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

बागमतीको ब्याटिंग लाइन ध्वस्त गर्न आर्मीका बलर जितेन्द्र मुखियाले ४ विकेट लिए भने बिक्रम सोब, सुशान भारीले ३-३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले ५० ओभरमा सबै विकेट गुमाउदै २२९ रन बनाएको थियो ।

निकै खराब शुरुवात गरेको आर्मीका लागि राजेश पुलामी मगरले सर्बाधिक ६५ रन बनाएका थिए । राजेशले ९१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै महत्वपूर्ण ६५ रन बनाएका थिए ।

त्यस्तै भीम सार्कीले ४० रनको महत्वपूर्ण योगदान दिए भने बिक्रम सोबले ३५ तथा लोकेश बमले २३ रन बनाएका थिए । त्यसैगरी सुशान भारीले अविजित १७ रन बनाएका थिए ।

त्यस्तै आर्मीका कप्तान बिनोद भण्डारी १०, हरिबहादुर चौहान ३, अनिल मण्डल २, रोहित पौडेल ० रन बनाएर आउट भएका थिए ।

त्यसैगरी बागमती प्रदेशका बलर गौतम केसीले ५ विकेट लिए भने रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले एक एक विकेट लिएका थिए ।

योसँगै आर्मी क्लब लगातार चौथो पटक पिएम कपको फाइनलमा पुगेको छ । अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि आर्मी क्लबले अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफसँग खेल्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *