खेलकुद

आर्मीद्वारा बागमतीलाई २३० रनको लक्ष्य

काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौथो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

खराब सुरुवात गरेको आर्मीका तीन खेलाडी १७ रनको स्थितिमा आउट भएका थिए । ओपनरद्वय हरि चौहान ३, अनिल मण्डल २ तथा रोहित पौडेल शून्य रनमा आउट भए ।

चौथो विकेटका लागि ५६ रनको अर्धशतकीय साझेदारी गरेका भीम शार्की ४०, लोकेश बमले २३ रनको पारी खेले ।

यस्तै, विक्रम सोबले ३५, विनोद भण्डारीले १० रन बनाए । आर्मीका राजेश फुलामीले सर्वाधिक ६५ रन जोडे । पुलामीले ९१ बल खेल्दै २ छक्का र ४ चौक प्रहार गरे । यसैगरी शुशन भारीले १६ रन बनाए ।

बागमतीका गौतम केसीले ५, विपिन आचार्य, नन्दन यादव, तिलक भण्डारी र रामनरेश गिरीले समान एक–एक विकेट लिए । बागमतीका बलरहरुले ३५ रन (२६ वाइड, ५ बाइज र ४ लेगबाइ) अतिरिक्त दिएका थियो ।

आर्मी समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने समूह ‘बी’मा अपराजित रहँदै बागमती प्रदेश सेमिफाइनमा प्रवेश गरेको थियो ।

दुई टोलीबीचको विजेताले शनिबार उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ) सँग भिड्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *