गाले । टेष्ट च्याम्पियनसीप अन्तर्गत श्रीलंका र इंग्ल्यान्डबीचको पहिलो टेष्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ ।
श्रीलंकाले दिएको ७४ रनको सामान्य लक्ष्य पाहुना टोली इंग्ल्यान्डले ३ विकेटको क्षतिमा पुरा गर्दै दुई टेष्टको सिरिजमा १–० को अग्रता लिएको हो ।
इंग्ल्यान्डको जितमा जोनी बेइस्ट्रो र दानिएल लावरेन्सले नटआउट ३५ तथा २१ रनको योगदान दिए । इंग्ल्यान्डले पहिलो इनिङ्समा ४ सय २१ रन बनाएको थियो । कप्तान जोय रुटले २ सय २८ रनको दोहोरो शतकीय पारी खेले । यस्तै, दानिएल लावरेन्सले ७३ तथा जोनी बेइस्ट्रोले ४७ रन जोडे ।
गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली श्रंलंकाले पहिलो पारीमा १ सय ३५ रन मात्र बनाएको थियो ।
पहिलो पारीमा २ सय ८६ रनले पछि परेको श्रीलंकाले दोस्रो पारीमा ३ सय ५९ रन बनाएपछि ७४ रनको लक्ष्य दिएको हो ।
श्रीलंकाका लागि दोस्रो पारीमा लाहिरु थिरिमानेले १ सय ११, एन्जिलो म्याथुजले ७१, कुशल परेराले ६२ तथा निरोशन डिक्वेलाले २९ रन जोडे ।
इंग्ल्यान्डका ज्याक लिचले ५, डोम बेसले ३ तथा साम कुरानले २ विकेट लिए ।




