धनगढी । सुदूरपश्चिम स्पोर्टस् अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण चैत्रमा हुने जनाएको हो। गत वर्ष पौष १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड भएको भए पनि यो वर्ष कोरोना महामारीका कारण निर्धारित समयमा गर्न नसकिएको आयोजकले जनाएको छ ।
अवार्डको दोस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले बताए । ‘तयारी थालिसकेका छौँ,’ उनले भने,‘अवार्ड चैत्र ६ गते नै हुन्छ’ । सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
२०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने जनाइएको छ । गत वर्ष हामीले ६ विधामा अवार्ड दिएका थियौ,अध्यक्ष ओझाले भने,‘यस वर्ष ३ विधा थपेका छौ।’ उनका अनुसार पिपल्स च्वाइस,सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा नगद सहित अवार्ड प्रधान गरिने छ ।
अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला,उत्कृष्ट प्रशिक्षक,वर्ष युवा खेलाडी,स्पेसल अवार्ड,लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी,स्पेसल अवार्ड,लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र,यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।




