खेलकुद

पीएम कप: बागमती र आर्मी विजयी

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

आइतबार आफ्नो पहिलो खेलमा बागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो भने आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहदै ४८ रन बनाए । इशान पाण्डेले अविजित १७ रन बनाए । यस्तै, पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन जोडे । आकाश थापा १ रनमा आउट भए ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।

पुलिसका लागि ओपनरद्वय सुनिल धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए । त्यस्तै, अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे ।

आरिफ शेख २१ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

बागमतीका नन्दन यादवले ४, तिलक भण्डारीले ४, रामनरेश गिरीले २ विकेट लिए ।

यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ९६ रनको लक्ष्य दिएको थियो ।

१९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए । हेमन्त ओलीले १६ रन जोड्दा दिनेश अधिकारीले १२ रन जोडे ।

आर्मीका सुशन भारीले ४ विकेट लिए । शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ४१ रन बनाए ।

कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २/२ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *