काठमाडौँ । आजदेखि शुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आर्मी क्लबले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
आर्मीले दिएको २८८ रनको लक्ष्यपछाएको गण्डकी प्रदेश ४८ ओभरमा १८९ रनमा अल आउट भएपछि आर्मी ९८ रनले विजयी भएको हो ।
गण्डकीका लागि समीर कंडेलले सर्बाधिक ५० रन बनाए भने कप्तान विपिन खत्रीले ३७ रन अविजित बनाएका थिए । त्यस्तै अर्जुन कुमालले ३६ र विष्णु पाण्डेले १२ रनको योगदान गरेका थिए ।
आर्मीका बलर राजेश पुलामी मगरले सर्बाधिक ५ विकेट लिए भने भीम सार्कीले ३ तथा आकास चन्द र रोहित पौडेलले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले ५० ओभरमा ६ विकेट गुमाउदै २८७ रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका थिए । विनोदले ७२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । यो विनोदको प्रधानमन्त्री कपमा पहिलो शतक हो । विनोदले विजित रहदै १११ रन बनाएका थिए ।
त्यस्तै आर्मीबाट खेलेका राजु रिजालले ४५ रनको योगदान दिएका थिए भने राजेश पुलामी मगरले ३८ रन बनाए भने लोकेस बमले ४२ रन बनाए । त्यस्तै हरिकृष्ण झाले १४, रोहित पौडेलले १० र भीम सार्कीले १५ रन बनाएका थिए ।
त्यस्तै गण्डकी प्रदेशका बलर विपिन खत्री र बिशाल पौडेलले २-२ विकेट लिए भने दिपेश खत्री र चन्द्रकान्त पौडेलले एक विकेटका लिएका थिए ।
अब प्रतियोगिता अन्तर्गत शनिबार सशस्त्र प्रहरी बलको एपिएफ टिम र प्रदेश १ बीच खेल हुदै छ ।




