काठमाडौँ । नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व गोलरक्षक तथा अखिल नेपाल फूटबल संघ (एन्फां) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले शाहीको निधन भएको जानकारी दिएका छन् । शेर्पाले सोमबार बिहान सामाजिक सामाजिक सञ्जालमा शाहीको निधन आइतबार राति दैलेखस्थित आफ्नै घरमा भएको जनाउँदै श्रद्धाञ्जली दिएका छन्। शाही लामो समयदेखि विभिन्न रोगले थलिएका थिए ।
सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट सम्हालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् । उनले सन् १९८४, १९८५, १९८७ र १९८९ गरी चारपल्ट साफ गेम्स खेलेका छन् ।
सन् १९८२ मा नवौं एसियाली खेलकुदमा पनि उनी राष्ट्रिय टोलीका गोलरक्षक थिए । त्यो प्रतियोगिता नेपाली फूटबलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसबाहेक सन् १९८६ को विश्वकपका लागि नेपालमै भएको छनोट प्रतियोगितामा मलेसिया र दक्षिण कोरियासँग खेल्दा शाही नै गोलरक्षक थिए ।




