खेलकुद

एन्फाको विधान संशोधनको अन्तिम चरणमा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आफ्नो विधान संशोधनको प्रस्तावलाई अन्तिम चरणमा पुर्‍याएको छ । यसअघिको विधानमा रहेका केही बुँदालाई परिवर्तन गर्ने उद्देश्यले एन्फाले त्यसलाई संशोधन गर्ने भएको छ । जसमा एन्फामा पदाधिकारीको समय कति हुने, कति कार्यकालसम्म बस्न पाउने र कार्यसमिति कस्तो र कत्रो हुने भन्ने संशोधित विधानले तय गर्ने भएको छ ।
एन्फाले कुनै पनि एक पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान बनाउने प्रस्ताव अगाडि बढाएको छ । एन्फाले फुटबल संघका पदाधिकारी फेरी त्यही पदमा दोस्रो पटक निर्वाचित हुन सक्ने प्रस्ताव गरेको छ । एन्फाले विधान संशोधनका लागि प्रदेश र क्लबसँग छलफल अगाडि बढाएको छ । उनीहरूको राय सुझावलाई पनि एन्फाले सङ्कलन गरिरहेको छ ।


अहिले छलफलमा रहेको विधान संशोधनलाई माघको ६ गते हुने साधारण सभामा फ्लोरमा ल्याउने योजना छ । अहिले विधान संशोधन समितिले ७२ बुँदामा छलफल गरिरहेको छ । यस्तै एन्फाको प्रस्तावित नयाँ विधानले मनोनीत कार्यसमिति सदस्यको व्यवस्था खारेज गर्ने उल्लेख गरेको छ ।

यस्तै कार्यसमिति २१ जनाको हुने जसमा अध्यक्ष सहित एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र एक महिला सहित १५ जना सदस्य निर्वाचित हुनेछन् । त्यसमा प्रदेश सङ्घ, प्रशिक्षक सङ्घ, रेफ्री सङ्घ, महिला सङ्घ, खेलाडी संघका अध्यक्षहरू आमन्त्रित सदस्यको रुपमा समावेश हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *