बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पालाँतीमा बुधबारबाट जिल्लास्तरीय ९–ए साइड फुटबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकका स्थानीय तहबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहले सहभागिता जनाएका छन् ।
कुल ९ लाख रूपैयाँ लागत अनुमान गरिएको उक्त प्रतियोगिताको आर्थिक व्यवस्थापन पूर्वसूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतको परिवारले गर्नेछ । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप प्रतियोगिता आयोजना गरिएको पूर्वमन्त्री बस्नेतले बताए ।
विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित सिल्ड र ट्रफी पाउने छ
‘कोमलमाया खड्ग बस्नेत स्मृति’ मा सञ्चालित उक्त प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित सिल्ड र ट्रफी पाउने छ । पुरस्कार राशीको पुरस्कार पाउने छ । आउँदो पुस २८ सम्म चल्ने प्रतियोगिताको जिल्ला खेलकुद बिकास समितिको प्राविधिक सहयोगमा सुरू गरिएको हो ।
बुधबार भएको पहिलो खेलमा मेलम्ची नगरपालिकाले बिजयी सुरुवात गरेको छ । मेलम्चीले भोटेकोशी गाउँपालिकालाई ४–०ले पराजित गर्यो । मेलम्चीका म्यान अफ दि म्याच सञ्जन माझीले ह्याट्रिक गरे भने जीवराज ढकालले एक गोल थपे ।
उत्कृष्ट खेलाडीलाई २० हजार नगद, हरेक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफी प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ७ हजार र ट्रफी प्रदान गरिनेछ ।




