अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तगर्त साेमबारको खेलमा मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।
होबार्टस्थित बेलेराइभ ओवलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।
स्टार्सका मर्कूस स्टोइनिसले ९७ रनको अविजित पारी खेले । यस्तै, हिल्टोन कार्टराइटले ३६ तथा निकोलास पूरनले २६ रन बनाए ।
होबार्टका नाथान एलिसले ३, रिले मेरिडिथले २ तथा सन्दीप लामिछानेले एक विकेट लिए ।
सन्दीपले आफ्नो पूर्व क्लबका कप्तान म्याक्सवेललाई पहिलो स्पेलको दोस्रो ओभरमा एलबिडब्लु धरापमा पारे । म्याक्सवेल ७ बलमा ६ रन बनाउँदै पेभलियन पर्किए । पहिलो स्पेलमा किफायती बलिङ गरेका सन्दीपले दोस्रो स्पेलमा भने महंगो साबित हुन पुगे । उनले पुरै चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर १ विकेट लिए ।




