टेष्ट च्याम्पियनसीप अन्तर्गत पाकिस्तानविरुद्धको ‘बक्सिङ डे’ टेष्टमा न्युजिल्यान्ड विजयी भएको छ । जितसँगै न्युजिल्यान्डले दुई खेलको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।
खेलको पाँचौँ दिन (बुधबार) पाकिस्तानलाई २ सय ७१ रनमा समेट्दै १ सय १ रनको फराकिलो जित हात पारेको हो ।
३ सय ७३ रनको लक्ष्य पछ्याएको पाहुना टोली पकिस्तानले अन्तिम दिन २ सय ७१ रन मात्र बनाउन सक्यो । पाकिस्तानका फवाद आलामले १ सय २, मोहम्मद रिजवानले ६०, अझर अलीले ३८ तथा फहीम अस्राफले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा पाकिस्तानले हार ब्याहोर्न बाध्य भयो ।
न्युजिल्यान्डका टिम साउथी, काइल जेमिसन, मिचेल सान्टनर, निल वाग्नर र ट्रेन्ट बोल्टले समान दुई–दुई लिए ।
पहिलो पारीमा १ सय ९२ रनको अग्रता लिएको घरेलु टोली न्युजिल्यान्डले दोस्रो इनिङ्समा १ सय ८० रनको स्थितिमा पारी समाप्तीको घोषणा गर्दै पाकिस्तानलाई ३ सय ७३ रनको लक्ष्य दिएको थियो ।
न्युजिल्यान्डका टोम ब्लन्डेलले ६४, टोम लाथमले ५३ तथा केल विलियम्सनले २१ रनको योगदान दिएका थिए ।
न्युजिल्यान्डले पहिलो इनिङ्समा कप्तान केन विलियम्सनको १ सय २९ रनको शतकीय पारीको मद्धमा ४ सय ३१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले पहिलो पारीमा २ सय ३९ रन मात्र बनाएको थियो ।




