क्यानबेरा । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तर्गत सिड्नी थन्डर्स विजयी भएको छ । मंगलबार भएको खेलमा थन्डर्सले मेलबर्न स्टार्सलाई ७५ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे ।
क्यानबेरास्थित मनुका ओवलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थन्डर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो ।
राम्रो सुरुवात गरेका थन्डर्सका उस्मान खवाजा र एलेक्स हेल्सले पहिलाे विकेटका लागि ८९ रनको अर्धशतकीय साझेदारी गरे । आउट हुनअघि हेल्सले ७१ तथा खवाजाले ३७ रन बनाए ।
यस्तै, कलुम फर्गुसनले ५१, बेन कटिङले नटआउट २० तथा क्रिस ग्रिनले १२ रनको योगदान दिए ।
२ सय २० रनको विशाल लक्ष्य पछ्याएको स्टार्सले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएको स्टार्सका लागि मर्कूृस स्टोइनिसले २७, ग्लेन म्याक्सवेल र एडम जाम्पाले २३/२३, बेन डन्कले २१ तथा आन्द्रे फ्लेचरले १८ रनको पारी खेले ।
स्टार्सलाई कम स्कोरमा रोक्ने क्रममा थन्डर्सका क्रिस ग्रिनले ४, क्रिस ट्रेमेन र तनवीर संघले समान २–२ तथा दानिएल साम्सले एक विकेट लिए ।
जितसँगै थन्डर्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान पाँच खेल खेलेको सिक्सर्स १६ अंकसहित पहिलो स्थानमा रहेको छ भने एडिलेड स्ट्राइकर्स, होबार्ट हुरिकेन्स र मेलबर्न स्टार्स क्रमश तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् ।
यसैगरी, एक खेल कम खेलेको ब्रिसबेन छैटौँ, मेलबर्न रेनेगेड्स सातौँ र पर्थ स्कोर्चर्स आठौँ स्थानमा रहेको छ ।




