लियोनल मेस्सीले ब्राजिलीयन लिजेण्ड पेलेको कीर्तिमान बराबरी गरेका छन् ।बार्सिलोनाका स्टार मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।
शनिबार भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए ।पहिलो हाफको ईन्जुरी समयमा मेस्सीले हेडमार्फत् गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल रहे ।
पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।
खेलमा पाहुना टोली भ्यालेन्सियाले सुरुवातमै मोक्टार दिखाबीको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा मेस्सी पेनाल्टीमा चुकेपछि बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमाएको थियो । लगत्तै मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
घरेलु टोलीका रोनाल्ड अरुजोले बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए । तर म्याक्सिमिलियानो गोमेजले गोल गर्दै बार्सिलोनालाई बराबरीमा रोके ।
बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ ।




