काठमाडौँ । अस्ट्रेलिया टुरमा रहेको भारतीय क्रिकेट टिमले पहिलो टेस्टको पहिलो इनिंगमा ५३ रनको अग्रता बनाएको छ । पहिलो इनिंगमा अस्ट्रेलिया १९१ रनमा अल आउट भएपछि भारतले ५३ रनको अग्रता बनाएको हो ।
अस्ट्रेलियाका लागि कप्तान टिम पानेले सर्बाधिक ७३ रन बनाए भने मार्नस लाबुसचाँगेले ४७ रन बनाए । त्यस्तै मिचेल स्टार्कले १५, क्यामरुन ग्रीनले ११ र नाथन लियोनले १० रनको योगदान दिए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियालाई सस्तैमा समेटनेक्रममा भारतीय बलर आर आश्विनले ४ विकेट लिए भने उमेश यादवले ३ र जसप्रित बुमराहले २ विकेट लिए ।
यस अघि खेलको भारतले पहिलो इनिंगमा २४४ रन बनाएर आउट भएको थियो ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतका लागि कप्तान विराट कोहलीले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै चैतेश्वर पुजाराले ४३ र आजिख्य रहानेले ४२ रनको योगदान दिएका थिए । त्यस्तै मयंक अग्रवालले १७ र हनुमा विहारीले १६ रन बनाएका थिए । त्यसैगरी ओपनर पृथ्वी शा डक आउट भएका थिए । त्यसैगरी आर आश्विनले १५ र रिद्धिमान शाह ९ रन बनाएका थिए ।
अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ४ विकेट लिएका थिए भने पाट कमिन्सले ३ तथा जोस हजेलवूड र नाथन लियोनले एक एक विकेट लिएका थिए ।
५३ रनको अग्रता पाएको भारतले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ ।




