एजेन्सी । पोल्यान्डका रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सूची सार्वजनीक गर्दा लेवान्डोस्की, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।
तर, पोल्याण्डका अन्तर्राष्ट्रिय फरवार्ड ३२ वर्षीय लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई पछि पार्दै फिफा वर्ष खेलाडीको उपाधि जितेका हुन् ।
उनले सन् २०२० मा ४७ खेल खेल्दा ५५ गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेस लिगासहित च्याम्पियनसिप र घरेलु कपसमेत उचालेका थिए ।
यस्तै, इंग्ल्यान्डकी लुसी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । ब्रोन्जले डेनमार्ककी पर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पार्दै उपाधि जितेकी हुन्।
फिफा फिफप्रो पुरुष टीम अफ दी इयरमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलाडीले वर्चश्व जमाएका छन्। फिफाले बिहीबार राति सार्वजनिक गरेको बर्षको उत्कृष्ट ११ मा बायर्नका चार खेलाडी परेका छन्। बायर्नले गत सिजन च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मन कप गरी तेहेरो उपाधि जितेको थियो। बायर्नका फरवार्ड रोवर्ट लेवनडोवस्की, रक्षक अल्फान्सो डेभिस, मिडफिल्डर जोशुवा किमिच र थियागो एलकान्ट्रा उत्कृष्ट ११ को टीममा परेका छन्।




