कास्की । नेपाल पावर लिफ्टिङ एशोसिएसनले भारतमा सम्पन्न ‘२१औँ वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा स्वर्ण पदक विजेता खेलाडीलाई आज पोखरामा सम्मान गरेको छ ।
वल्र्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशनको आयोजनामा भारतको अमरावतीमा गत डिसेम्बर ४ देखि ७ तारेखसम्म भएको प्रतियोगितामा स्वर्ण विजेता नेपाली खेलाडीलाई नगर परिक्रमा गराउँदै रङ्गशालामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
पदकधारी खेलाडी हसन गुरुङ, आशिष आलेमगर, रजत पदक विजेता राजेश सुवाल र नेपाली टोलीका प्रशिक्षक जीवन गिरीलाई राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य राजेशकुमार गुरुङ, एशोसिएसनका अध्यक्ष सुन्दर भुसाल लगायतले प्रशंसापत्रबाट सम्मान गरेका हुन् ।
प्रतियोगितामा नेपालका पाँच खेलाडीले सहभागिता जनाएकामा नेपालले तीन स्वर्ण र एक रजत पदक जित्न सफल भएको थियो । सुर्खेतकी श्रृति कार्कीले पनि स्वर्ण पदक जित्न सफल भएका थिए । राखेप सदस्य गुरुङले पावर लिफ्टिङ खेल विकास तथा खेलाडी सम्मानका लागि परिषद् तथा प्रदेश सरकारसँग आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पदक विजेता खेलाडी गुरुङले पहिलो अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्दा खुशीको सीमा नरहेको बताए ।
उनले भने, “प्रतियोगिताका लागि हामीले एक वर्षअघिदेखि तयारी गरेका थियौँ, सकेको मेहनत गर्ने र पदक जित्ने लक्ष्य थियो, कोरोनाका बेला प्रतियोगिताका लागि घर छाडेर हिँडे पनि स्वर्ण पदक जितेर फर्किंदा अत्यन्त खुशी लागेको छ ।”
नेपाली टोलीका प्रशिक्षक समेत रहेका दक्षिण एशियाली पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष गिरीले प्रतिकूल अवस्थामा पनि विश्वका ११ देशले सहभागिता जनाएको प्रतियोगितामा खेलेर पदक जितेर देशको नाम राख्न पाउँदा खुशी लागेको बताउँदै यस खेलमा नेपाली खेलाडीको भविष्य सुन्दर रहेको बताए । उनले आसन्न नवौँ राष्ट्रिय खेलकूद लगायतका प्रतियोगितामा पावर लिफ्टिङ खेललाई समेत समावेश गर्न माग गरे । एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले आगामी दिनमा प्रदेशस्तरबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी दिए ।
१३औँ सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई बिहीबार पोखरामा सम्मान गर्ने भएको छ । गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य समेत रहेका एकेडेमीका संयोजक राजेश गुरुङले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिए ।
एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, विषयगत समिति, पत्रकार महासङ्घ गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि सम्मानपत्रसहित सम्मान गर्ने भएको छ ।
यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा खेलाडी राजु गैरे(नेपाली)का परिवारलाई रु एक लाख एक हजार १११, पूर्वभलिबल खेलाडी तथा प्रशिक्षक जीवन चौधरीलाई रु ७० हजार ७७०, खेलका क्रममा घाइते राष्ट्रिय महिला भलिबल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११, क्रिकेटर सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० र टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिने संयोजक गुरुङले जानकारी दिए ।
यसैगरी वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडीलाई समेत कार्यक्रममा सम्मान गरिने र खुला रक्तदान कार्यक्रम आयोजना गरिएको एकेडेमीले जनाएको छ ।




