खेलकुद

राप्ती बन्यो गौतमबुद्ध कप च्याम्पियन

काठमाडौं । राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।

उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । यस्तै, रित गौतम र इशान पाण्डेले समान २७ र २७ रनको योगदान गरे । राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो ।

उत्कृष्ट सुरुवात गरेको राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए ।

नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।

तीन टिम सहभागी प्रतियोगिता वागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । लामो समयदेखि क्रिकेट ठप्प रहेको कारण क्रिकेट चलायमान बनाउन प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *