काठमाडौँ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज देखि शुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण शुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग,चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाको तयारी स्वरुप बन्द प्रशिक्षण शुरु गरिएको बताए।
पूर्व कप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागि हुन पाउँदा खुशि लागेको बताएका छन्। विश्वकप छनौटका लागि समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । एसियन छनोट अन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अंक सहित शिर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन भने नेपाल तीन अंक सहित चौथो स्थानमा रहेको छ ।
गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा सहभागि हुनु भन्दा पहिला सबै खेलाडिको पीसीआर परीक्षण गरिएको थियो ।




