गण्डकी । पोखरा महानगरपालिका–१७ फुस्रेखोला किनारामा रु नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१ वडा एक खेलमैदान नीतिअनुसार ५ सय रोपनी क्षेत्रफलमा जिल्लास्तरीय ‘पावरहाउस फुस्रेखोला’ खेलमैदान निर्माण गरिने भएको हो ।
“स्वास्थ्य अनुशासन, खेलकूद पर्यटन विकास समृद्धिको आधार” भन्ने मूल नारासहित निर्माण गरिने खेलमैदानसम्म पुग्ने बाटोको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गरे । सो अवसरमा उनले कुनै पनि विकास निर्माण गर्नुभन्दा पनि सञ्चालनमा चुनौती रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय बासिन्दाको साथ सहयोग अपरिहार्य भएको बताए । स्वास्थ्यको लागि खेलकूदको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रमुख जिसीले महानगरले एक वडा एक खेलमैदाको अवधारणालाई अघि बढाएको जानकारी दिए । खेलमैदान निर्माणमा महानगरले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले खेलकूद मैदान निर्माणसँगै यस क्षेत्रको करिब चार हजार रोपनी सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग गरिने तयारी भइरहेको जानकारी दिए । फुस्रेखोलाको किनारास्थित पानीका झरना, हरियालीसँगै निर्माण गरिने खेलमैदानको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले यसका लागि तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।
महानगर कार्यपालिका सदस्य एवम् पोखरा १७ खेलकूद संयोजक राधिका शाही योगीले बाटो निर्माणमा वडास्तरीय बजेटबाट रु १३ लाख व्यवस्थापन गरिएको बताउँदै डिपिआरका अनुसार प्याराफिट निर्माणका लागि मात्र रु तीन करोड ६५ करोड लाग्ने बताए । पावरहाउस फुस्रेखोला जिल्लास्तरीय खेलमैदान उपभोक्ता समितिका संयोजक दीपक गोदारले यस क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका अग्रज खेलाडीको सुझाव एवं सल्लाहका आधारमा यस क्षेत्रलाई खेलकूदको केन्द्रका रुपमा विकास गरिने सोच रहेको बताए ।




