खेलकुद

अष्ट्रेलियाकाे सान्त्वना जित

काठमाडाैं । भारतविरुद्धको टी-२० सिरिजमा घरेलु टाेली अष्ट्रेलियाले सान्त्वना जित हात पारेकाे छ । जितसँगै अष्ट्रेलिया तीन खेलकाे सिरिज क्लिन स्विप हुनबाट बचाएकाे छ । अष्ट्रेलियासँग पराजित भएपनि भारतले टी-२० सिरिज २-१ ले जितेकाे छ ।

मंगलबार भएकाे खेलमा १ सय ८७ रनकाे लक्ष्य पछ्याएकाे भारतलाई १ सय ७४ रनमा राेक्दै १२ रनका जित हात पारेकाे हाे । अष्ट्रेलियाकाे जितमा म्याथ्यु वेड, ग्लेन म्याक्सवेल तथा मिचेल स्विपसनले महत्वपूर्ण याेगदान दिए ।

भारतका कप्तान विराट काेहलीले ८५, शिखर धवनले २८, हार्दिक पाण्ड्याले २० तथा शार्दुल ठाकुरले १७ रनकाे पारी खेलेपनि टाेलीलाई जित दिलाउन सकेनन् ।

अष्ट्रेलियाका मिचेल स्विपसनले ३, एडम जाम्पा, एन्ड्रयु ताइ, सिन एब्बाेट र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिए ।

यसअघि, सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । मध्यम सुरुवात गरेको अष्ट्रेलियाका लागि म्याथ्यु वेड र ग्लेन म्याक्सवेलले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए ।

वेड र म्याक्सवेलले अर्धशतकीय पारी खेले । वेडले ८० तथा म्याक्सवेलले ५४ रन बनाउँदै आउट भए । यस्तै, स्टेभन स्मिथले २४, डिआर्ची सर्टले ७ तथा मोइसेस हेनरिक्सले ५ रनको योगदान दिए ।

भारतका वासिङ्टन सुन्दरले २, टी नटराजन र शार्दुल ठाकुरले एक-एक विकेट लिए ।

यसअघि सम्पन्न भएकाे २ वटा टी-२० खेलमा भारत ११ रन तथा ६ विकेटले विजयी हुँदै तीन खेलकाे सिरिज २-१ ले भारतले आफ्नाे पक्षमा पारेकाे छ । यस्तै, एकदिवसीय सिरिज भने घरेलु टाेली अष्ट्रेलियाले जितेकाे थियाे ।

दुई देशबीचकाे ४ खेलकाे टेष्ट सिरिज डिसेम्बर १७ देखि एडिलेडमा सुरू हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *