खेलकुद

युनाईटेडको पुनरागमन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।

गएराति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनविरुद्ध ३-२ गोलको पुनरागमन जित निकालेको हो ।

साउथह्याम्पटनको मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर युनाईटेडले उत्कृष्ट जित निकालेको हो ।

खेलको २६ औं मिनेटमा जान बेडनारेकले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा जेम्स वार्ड प्राउसले फ्रिकिकबाट गोल गर्दै साउथह्याम्पटन २-० को अग्रता दिलाए ।

तर, दोस्रो हाफमा युनाईटेडले उत्कृष्ट प्रदर्शन गर्यो ।

खेलको ५९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई २-१ को स्थितिमा ल्याए । उनले काभानीको पासमा गोल गरेका थिए ।

यससँगै फर्नान्डेस युनाईटेडका लागि पाँच अवे खेलमा लगातार गोल गर्ने युनाईटेडका चौंथो खेलाडी बने ।

खेलको ८४ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा काभानीले हेडमार्फत गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

जितपछि युनाईटेड ९ खेलमा १६ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

साउथह्याम्पटन १० खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *