काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनामाथि सहज जित हात पारेको छ ।
आइतबार साँझ भएको खेलमा घरेलु टोली बार्सिलोनाले ओसासुनामाथि ४-० गोलअन्तरको सहज जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेइट, एन्टोन ग्रीजमन, फिलिप काउटिन्हो र कप्तान लिओनल मेस्सीले एक-एक गोल गरे ।
खेलको २९ औं मिनेटमा गोल गर्दै मार्टिनले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
दोस्रो हाफको ५७ औं मिनेटमा कौटिन्होले गोल गरे । त्यसपछि खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए । मेस्सीले गोलपछि अर्जेन्टाइन लेजेण्ड डिएगो अर्मान्डो म्याराडोनाको निधनमा श्रदान्जली अर्पण गरेका थिए । उनले म्याराडोनाले खेलेका अर्जेन्टाइन क्लब नेवेल्स ओल्ड ब्वाइजको जर्सी देखाउँदै गोल समर्पित गरेका थिए ।
जितसँगै बार्सिलोना ९ खेलमा १४ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । पराजित ओसासुना १० खेलबाट ११अकसहित १५औं स्थानमा छ ।




